मलेखु–मुग्लीन सडक खण्डमा धुलो र हिलोले जनजीवन अस्तव्यस्त, यात्रु र स्थानीय दुवै हैरान
चितवन, असोज २१ । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लीन सडक खण्डमा वर्षा पछिको बाढी, पहिरो र सडक कटानले यात्रु र स्थानीय दुबैलाई निकै सास्ती बेहोर्नु परेको छ। पर्व मनाएर घर फर्किँदै गरेका यात्रुहरू मात्र होइन, राजमार्ग आसपासमा बसोबास गर्ने स्थानीयहरू पनि सडकको खराब अवस्थाका कारण दिनहुँ हैरानी खेपिरहेका छन्।
सडकमा ठाउँ–ठाउँमा रहेका खाल्टा–खुल्टीले सवारी दुर्घटनाको जोखिम बढाएको छ भने सामान्य घाम लाग्दा धुलोको अत्यधिक समस्या र पानी पर्दा हिलोको समस्या तीव्र बनेको स्थानीयहरूको गुनासो छ।
मलेखु–मुग्लीन सडकखण्ड अन्तर्गत चरौदी बजार, कृष्ण भीर, जोगीमारा, मौवा खोला, फिस्लिङको चिसोपानीधारा, कुरिनटार बजार क्षेत्र र मनकामना केवलकार आसपासका बासिन्दा लगातार धुलो–हिलोको समस्यामा परेका छन्।
व्यवसाय गर्ने स्थानीय व्यापारीहरूका अनुसार, “धुलोले गर्दा ग्राहक आउन छाडेका छन्, व्यापार चौपट भएको छ।” सामान्य घाम लाग्दा धुलो उडेर घरमा बस्नै नसक्ने र वर्षा हुँदा हिलोले हिँड्न गाह्रो हुने गुनासो उनीहरूको छ।
स्थानीयहरूले सडक निर्माण कम्पनीको लापरबाही र मर्मतमा ढिलाइ भएको आरोप लगाएका छन्। “सडक जथाभावी खनेर छोडिएको छ, खाल्टा खुल्टी नपुर्ने, जनशक्ति परिचालन नगर्ने कामका कारण अवस्था भयावह बनेको हो,” चरौदीका एक स्थानीयले बताए।
पृथ्वी राजमार्गमा सामान्य अवस्थामा दैनिक १५ देखि १७ हजार सवारीसाधन आवागमन हुने गरे पनि पर्वका समयमा यो संख्या दोब्बरभन्दा बढी पुग्ने प्रहरीको अनुमान छ। हाल सडकको अवस्था बिग्रँदा दुर्घटनाको जोखिम पनि बढेको भन्दै स्थानीयहरूले तात्काल मर्मत र सुधार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

