नुवाकोटमा धान काटेर फर्कने क्रममा तादी खोलाले बगाउँदा एक वृद्धको ज्यान गयो
नुवाकोट, असोज २१। नुवाकोटको लिखु गाउँपालिका–४ गड्खार निवासी करिब ६५ वर्षीय पूर्णबहादुर राई (ढकाल राई)को तादी खोलाले बगाउँदा मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार साँझ धान काटेर घर फर्कने क्रममा खोला तर्दै गर्दा राईलाई खोलाले बगाएको हो। घटना सम्बन्धी सूचना साँझ करिब ६ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढिकुरेबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
खोजतलासका क्रममा राईको शव सोही दिन साँझ करिब ७ बजे, खोलाले बगाएको स्थानदेखि २ किलोमिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय ढिकुरेबाट करिब ३ किलोमिटर पूर्वतर्फ, र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट ८ किलोमिटर पूर्व पर्ने बताइएको छ।
मृतकको शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सोमबार राति करिब साढे ९ बजे त्रिशुली अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

