धादिङमा भएको “स्व. लोक बहादुर गुरुङ स्मृति कप” मा नुवाकोटको दुप्चेश्वर गाउँपालिका प्रथम
धादिङ,असोज २१ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा सम्पन्न “स्व. लोक बहादुर गुरुङ दोस्रो स्मृति कप” खुला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका विजयी बनेको छ।
मंगलबार नलाङ पात्ले माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा गोरखाको घले हार्वेस्टिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले उपाधि हात पारेको हो।
विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको घले हार्वेस्टिङले नगद ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तेस्रो स्थान सिद्धलेक गाउँपालिकाले हासिल गरेको छ। तेस्रो स्थानका लागि भएको खेलमा सिद्धलेकले नुवाकोटको पञ्चकन्या गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै नगद ३३ हजार ३३३ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।
सेमिफाइनल चरणमा घले हार्वेस्टिङले पञ्चकन्या गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने दुप्चेश्वरले सिद्धलेक गाउँपालिकालाई २–१ सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो।
प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा दुप्चेश्वरका राजिव कँडेल, उत्कृष्ट स्पाइकर अमर थापा मगर (सिद्धलेक), उत्कृष्ट सेटर मिन बहादुर तामाङ (दुप्चेश्वर), उत्कृष्ट सर्भर पुस्कल थापा (दुप्चेश्वर), उत्कृष्ट डिफेन्डर सुरेश बराम (घले हार्वेस्टिङ) र उत्कृष्ट प्रशिक्षक विक्रम थापा (दुप्चेश्वर) घोषित गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तथा नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो।
विजेता र उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, वडा अध्यक्षहरू पेमा लामा, शम्भु गुरुङ, देव पुलामी, सानो गिरी, तमु युवा समाजका अध्यक्ष दिपक गुरुङ र प्रतियोगिता संयोजक सुन्दर गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।
तमु युवा समाज सिद्धलेक–२, धादिङको आयोजनामा र सिद्धलेक गाउँपालिकाको प्रायोजनमा असोज १७ गतेदेखि सुरु भएको प्रतियोगितामा धादिङ, गोरखा, नुवाकोट र रसुवाका गरी १४ टिम सहभागी थिए। प्रतियोगितामा धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौं सिद्धेश्वर ३२५ को सहयोग रहेको थियो।
तमु युवा समाजले हरेक वर्ष दशैंको अवसरमा खिर्रेमा भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ। गत वर्षदेखि स्व. लोक बहादुर गुरुङको सम्झनामा “लोक बहादुर गुरुङ स्मृति कप” आयोजना गर्न थालिएको हो।
स्व. लोक बहादुर गुरुङ तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका पूर्वअध्यक्ष, नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष, र नलाङ साविक वडा नं. ४ का वडा अध्यक्ष समेत रहनुभएको थियो। उहाँको सवारी दुर्घटनामा निधन भएपछि उहाँको सम्झनामा यो प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको आयोजकले जनाएको छ।

