सङ्खुवासभामा अलैँचीको मूल्य घट्यो, गतवर्षको तुलनामा प्रतिमनमा ३० हजारसम्म कमी



संखुवासभा,असोज २२ । सङ्खुवासभामा यो वर्ष अलैँचीको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजारदेखि एक लाख १० हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँची अहिले घटेर ८० हजार रुपैयाँमा झरेको छ।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग घटेपछि मूल्यमा कमी आएको हो। उहाँले भन्नुभयो, “उत्पादन बढी र माग कम भएकाले मूल्य घटेको हो। अहिले ग्रेडिङ राम्रो भएको अलैँची ८२ हजार र ग्रेडिङ नभएको अलैँची ८० हजार रुपैयाँ प्रतिमनमा कारोबार भइरहेको छ।”

श्रेष्ठका अनुसार, गतवर्ष अलैँचीको मूल्यमा सुधार आए पनि यस वर्ष पुनः गिरावट आएको छ। एक दशक अघिदेखि अलैँचीको मूल्यमा लगातार उतारचढाव देखिँदै आएको छ।

मसलाको रूपमा प्रयोग हुने अलैँची नेपालबाट करिब ९८ प्रतिशत विदेशमा निर्यात हुने गरेको छ। सङ्खुवासभामा हाल करिब २,८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको र गतवर्ष जिल्लामा ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

स्थानीय किसानहरू भने उत्पादन राम्रै भए पनि बजार मूल्य घट्दा आम्दानीमा असर परेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्