नुवाकोटमा बडादशैंमा ४ करोड रुपैयाँभन्दा बढीको खसीबोका कारोबार
नुवाकोट,असोज २२ । नुवाकोटमा यस वर्षको बडादशैंका अवसरमा करिब ४ करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ। पशुसेवा कार्यालय नुवाकोटका अनुसार जिल्लाबाट बडादशैंका लागि ३ करोड १५ लाख रुपैयाँ बराबरका करिब १ हजार ५ सय खसीबोका बाहिरी जिल्ला निर्यात भएका छन्।
कार्यालयका प्रमुख डा. निशान्त शर्मा गेलालका अनुसार नुवाकोटबाट काठमाडौं उपत्यका, धादिङ र चितवनसम्म खसीबोका पठाइएका हुन्। उहाँले भन्नुभयो, “छिमेकी चीनको केरुङबाट भेडा–च्यांग्रा आउन बन्द भएपछि नुवाकोटका खसीबोका खरिद गर्नेहरूको संख्या बढेको हो।”
डा. गेलालका अनुसार नुवाकोटका खसीबोका स्वास्थ्यकर र तौलमा राम्रो हुने भएकाले बजारमा माग उच्च देखिएको छ। जिल्लाभित्र मात्रै यस बडादशैंमा ४ करोड १५ लाख रुपैयाँ बराबरको खसीबोका, मासु र माछाजन्य वस्तुको खपत भएको छ।
उहाँका अनुसार नुवाकोटका बजारमा ३० किलोसम्मको जिउँदो खसीबोका प्रतिकिलो ५५० देखि ५८० रुपैयाँ र ३० किलोभन्दा माथिका खसीबोका ६०० देखि ६२० रुपैयाँ प्रतिकिलोमा बिक्रीवितरण भइरहेको छ। यस वर्ष नुवाकोटमै पर्याप्त मात्रामा खसीबोका उपलब्ध भएकाले अन्य जिल्लाबाट आयात गर्न नपरेको पनि उहाँले जानकारी दिनुभयो।
यसबाहेक राँगो, कुखुरा र माछाजन्य वस्तु गरी अर्को १ करोड ५ लाख रुपैयाँ बराबरको खपत भएको छ। जिल्लाका केही कृषकले यस बडादशैंमा एकैपटक १० वटासम्म खसीबोका बिक्री गरेको पनि कार्यालयले जनाएको छ।
पहाडी भू–संरचना भएको नुवाकोटमा व्यावसायिक बाख्रापालन तीव्र रूपमा विस्तार हुँदै गएको छ। हाल जिल्लामा १ सय ७५ वटा बाख्रापालन फर्महरू सक्रिय रहेको पशुसेवा कार्यालय नुवाकोटले जनाएको छ।

