५७०० कैदी र ९०० हतियार अझै पनि गायब, अपराध बढ्नसक्ने जोखिम



काठमाडौँ,असोज २२ । जेनजी प्रदर्शनलाई एक मौकाको रुपमा उपयोग गर्दै देशका विभिन्न कारागार तथा सुधारगृहबाट भागेकामध्ये साढे ५ हजारभन्दा बढी कैदी बन्दी अझै कारागार नफर्किएको कारागार व्यवस्थापन विभागले बताएको छ ।

गत साउनसम्म देशभर जम्मा १८ हजार ४६७ कैदी भएकोमा जेनजी प्रदर्शनका दौरान १३ हजार ५८९ कैदी भागेका थिए । उनीहरु देशभरका विभिन्न २८ वटा कारागारबाट भागेका हुन् ।

तीमध्ये ८ हजार ५१० कैदी कारागार फर्किएका छन् भने ५ हजार ७९ कैदी अझै फरार छन् ।

त्यस्तै मुलुकभरका ९ वटा बाल सुधारगृहबाट भागेका ९६४ बालबन्दीमध्ये ३४१ बालबन्दीमात्रै कारागार फर्किएका छन् ।

गृह मन्त्रालयले यही असोज १० गते एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई असोज २० गते सोमबारसम्म कारागार फर्किसक्न ‘समयसीमा’ दिएको थियो ।

तर प्रदर्शनका क्रममा भागेका कुल १४ हजार ५५३ कैदी तथा बालबन्दीमध्ये ५ हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल ५ हजार ६९७ बन्दी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभिन्न अपराध गरेर अदालतले दोषी प्रमाणित गरेका कैदीबन्दीहरु फरार रहेकै बेलामा प्रहरीबाट लुटिएको करीब ९ सय थान हतियार पनि अहिलेसम्म फिर्ता नभएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीबाट करीब १२ सय थान हतियार लुटिएको भए पनि हालसम्म करीब तीन सय थानमात्रै फिर्ता भएकाले बाँकी अतियार आपरिधिक समूहको नियन्त्रणमा पुगेको हुनसक्ने भन्दै प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।

देशभर प्रहरीका ४४५ कार्यालय ध्वस्त पारेर कुटपिट र लुटपाट मच्चाएको हिंश्रक समूहले प्रहरी कार्यालयमा भएको जनताका धनमाल (चोरीका सामान समातिएको), अनेकौँ प्रमाण र कतिपय लागूऔषध (बरामद भएको) पनि लुटेका थिए । यस्ता समूह अहिले पनि राज्यको नियन्त्रण त के, जानकारीमा समेत छैनन् ।

यही कारण देखाउँदै प्रहरी नेतृत्वले जेनजीलाई अर्को प्रदर्शन नगर्न सुझाव दिएको छ । प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई समेत जेनजीका प्रतिनिधीलाई ‘थप प्रदर्शन नगर्न भनिदिनू’ भनेर सन्देश दिएका छन् ।

हजारौँ कैदी र सयौँ हतियार अहिले पनि सुरक्षा निकाय र राज्यको पहूँच बाहिर भएकाले कुनै पनि खालको अपराध हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्