ऊर्जामन्त्री कुलमान घिसिङद्वारा नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रको अनुगमन
काठमाडौं,असोज २२ । ऊर्जामन्त्री कुलमान घिसिङले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणको स्यूचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली, ग्रिड सञ्चालन, विद्युत माग तथा आपूर्ति व्यवस्थापन, निर्यात र बाढी–पहिरोबाट प्रभावित आयोजनाहरूको अवस्थाबारे विस्तृत जानकारी लिनुभयो।
देशका विभिन्न स्थानहरूमा छिनछिनमा बत्ती जाने गुनासो बढ्दै गएपछि प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत प्रणालीलाई अझ भरपर्दो, गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउन आवश्यक अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिगत तथा प्रविधिक सुधारका विषयमा छलफल गर्नुभयो।
मन्त्री घिसिङले बाढी र पहिरोले क्षति पुर्याएका संरचनाहरूको तत्काल मर्मतसम्भार गरी विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो। उहाँले विद्युत अवरुद्ध हुने समस्या तत्काल समाधान गर्न उच्च प्राथमिकतामा राख्न आग्रह गर्दै मातहतका कार्यालयहरूलाई सधैं तयारी अवस्थामा रहन निर्देशन पनि दिनुभयो।
यस्तै, उहाँले विद्युतगृह, प्रसारण लाइन र सबस्टेसनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, विशेष गरी मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माणमा विशेष ध्यान दिन, साथै आगामी हिउँदको विद्युत् व्यवस्थापनमा अग्रिम तयारी गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिनुभयो।
अनुगमनका क्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले मन्त्रीलाई विद्युत उत्पादन, आपूर्ति, निर्यात र प्रणाली सञ्चालनको अवस्था साथै विद्यमान चुनौतीहरूबारे जानकारी गराएका थिए।
कार्यकारी निर्देशक सिलवालले बाढी–पहिरोले क्षति पुर्याएका संरचनाको मर्मत कार्य तीव्र गतिमा भइरहेको र विद्युत सेवा पुनः सञ्चालनका लागि प्राधिकरणका टोलीहरू तयारी अवस्थामा रहेको जानकारी दिएका छन्।

