मलेसियालाई ५ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टोलीले टी–२० आई शृङ्खला जित्यो
काठमाडौं,असोज २२ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न अन्तिम खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पारेको हो।
शृङ्खलाको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा नेपाल १३ रनले पराजित भए पनि चौथो खेलमा पुनः ६ विकेटको जित हात पारेको थियो। अन्तिम निर्णायक पाँचौँ खेलमा विजयी हुँदै नेपालले शृङ्खला जित्न सफल भयो।
यो जितसहित नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा हुने टी–२० विश्वकप ग्लोबल छनोटका लागि आत्मविश्वास बढाएको छ। उक्त शृङ्खला नेपालले विश्वकप छनोटको तयारी अन्तर्गत खेल्दै आएको हो।

