निर्वाचन सफल बनाउन सरकारको अपिल — नागरिकलाई शान्तिपूर्ण गतिविधिमा सहभागी हुन आग्रह



काठमाडौं,असोज २२ । सरकारले मुलुकमा शान्ति–सुव्यवस्था र अमनचयन कायम राख्दै आगामी निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग सहयोगको अपिल गरेको छ।

गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमहरूलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयले उल्लेख गरेको छ कि नागरिकका चासो, सरोकार र मागहरूलाई सरकार वार्ता तथा छलफलमार्फत समाधान गर्न सधैंँ सकारात्मक रहेको छ। त्यसैले धर्ना, जुलुसलगायतका कार्यक्रम अघि वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न अनुरोध गरिएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“नयाँ सरकार गठनसँगै स्थिति नियन्त्रणमा ल्याई शान्ति–सुरक्षाको अवस्था सामान्य बनाउने र आगामी फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको छ।”

मन्त्रालयले देशमा शान्तिसुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायहरू र आमनागरिक दुवैको साझा दायित्व रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्