लाङटाङमा बाढीले बगाएर चार जना बेपत्ता, पाँच दिन बित्दा पनि भेटिएनन्
रसुवा,असोज २३ । रसुवाको लाङटाङ घुम्न गएका क्रममा बाढी आएको खोलामा बगेर बेपत्ता भएका चार जना पाँच दिन बितिसक्दा पनि भेटिएका छैनन्। भक्तपुरबाट नुवाकोट हुँदै लाङटाङ गएका उनीहरू शनिबार वेरिङ खोलामा बाढीले बगाएर बेपत्ता भएका थिए।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार बेपत्ता भएका मध्ये तीन जना एउटै घरका सदस्य रहेका छन्। बेपत्ता हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका–४ की २३ वर्षीया संकृति श्रेष्ठ, सोही स्थानका २१ वर्षीय किशन श्रेष्ठ, २६ वर्षीया सनीता श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ रहेका छन्।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार बेपत्ताहरूको खोजी कार्य दैनिक रूपमा जारी छ। उनले भने, “बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका गरी करिब ४० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।”
पाँच दिन बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता नलाग्दा स्थानीयवासी र परिवारजन चिन्तित बनेका छन्। बाढीको तीव्रता र पहाडी भू–भागका कारण खोजी कार्यमा कठिनाइ भएको प्रशासनले जनाएको छ।

