प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन : “अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक छवि प्रवर्द्धन गर्न सक्रिय बनौँ”
काठमाडौँ, असोज २३ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको सकारात्मक प्रवर्द्धन गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ।
बुधबार विदेशस्थित राजदूतहरूसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री कार्कीले हालको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारप्रति नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय दुवैको सद्भाव रहेको उल्लेख गर्दै नेपालको परिवर्तित राजनीतिक परिस्थितिको सन्देश विश्वमाझ पुर्याउन आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “छिमेकी राष्ट्र भारत र चीनसहित सबै मित्रराष्ट्र र विकास साझेदारको सहयोगका बीच वर्तमान सरकारले आफ्नो म्यान्डेट सफलतापूर्वक पूरा गर्ने छ भन्ने विश्वास म सबैमा दिलाउन चाहन्छु।”
प्रधानमन्त्री कार्कीले हाल नेपाल निर्णायक राजनीतिक सङ्क्रमणको मोडमा रहेको भन्दै यस्तो बेला परराष्ट्र मन्त्रालय र दूतावासहरूको भूमिका अझै महत्त्वपूर्ण हुने बताउनुभयो।
आगामी निर्वाचन निष्पक्ष बनाउन जोड
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन सबै राजदूतलाई समन्वय र तयारीमा जुट्न निर्देशन दिनुभयो। आन्दोलनका क्रममा क्षति भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउन पनि आग्रह गर्नुभयो।
उहाँले थप्नुभयो, “सरकारको प्राथमिकता निर्वाचन भए पनि सुशासन र पारदर्शिता कायम गर्दै देशलाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन हामी प्रतिबद्ध छौँ।”
अन्तर्राष्ट्रिय तहमा नेपालबारे सकारात्मक सन्देश पुर्याउन आग्रह
प्रधानमन्त्री कार्कीले नेपालको आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किसकेको र पर्यटन क्षेत्र पनि सुचारु रहेको भन्दै नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश विश्वमाझ प्रवाह गर्न निर्देशन दिनुभयो।
उहाँले नयाँ पुस्ताको सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त नेपालको अपेक्षा स्वाभाविक रहेको भन्दै सरकारी निकायहरूलाई त्यस दिशामा जिम्मेवार भएर अघि बढ्न आग्रह गर्नुभयो।
विदेशस्थित नेपालीको हकहितमा संवेदनशील रहन निर्देशन
प्रधानमन्त्री कार्कीले विदेशस्थित दूतावासहरूलाई विदेशमा रहेका नेपालीहरूलाई सेवा प्रवाहमा तदारुक रहन निर्देशन दिनुभयो। विशेष गरी खाडी मुलुक र मलेसियामा कार्यरत नेपाली श्रमिकको अधिकार र सुरक्षाप्रति संवेदनशील हुन उहाँको निर्देशन छ।
भिजिट भिसाको दुरुपयोग, बिचौलियाको शोषणजस्ता समस्याबाट बचाउन दूतावास र मन्त्रालयले समन्वयपूर्वक काम गर्नुपर्ने बताउँदै उहाँले नेपाली श्रमिकलाई सुरक्षासहितको रोजगार वातावरण दिलाउन आवश्यक पहल गर्न आग्रह गर्नुभयो।
जलवायु र विपत्तिप्रति प्रभावकारी समन्वयको तयारी
नेपालजस्ता मुलुकले बारम्बार सामना गर्नुपर्ने प्राकृतिक प्रकोप र जलवायु परिवर्तनका चुनौतीबारे प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय फोरमहरूमा सक्रिय भूमिका खेल्न निर्देशन दिनुभयो।
अन्तर्राष्ट्रिय कोष, वित्त, साधनस्रोत र प्रविधि–साझेदारीका विषयमा समन्वयात्मक तयारीसहित अघि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, “नेपालमा सुशासन, समृद्धि र समावेशी लोकतन्त्र स्थापनाको यात्रा नयाँ पुस्ताले थालेको हो। हामी सबैले यो यात्रालाई विश्वसामु सकारात्मक रूपमा प्रस्तुत गर्नुपर्छ।”

