‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासहित आज विश्व हुलाक दिवस मनाइँदै



काठमाडौँ,असोज २३— ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ भन्ने नाराका साथ आज (अक्टोबर ९) विश्वका विभिन्न देशहरूमा विश्व हुलाक दिवस मनाइँदै छ। सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घ (Universal Postal Union – UPU) स्थापना भएको स्मृतिमा हरेक वर्ष यो दिवस मनाइन्छ।

सन् १९६९ मा जापानको टोकियोमा सम्पन्न विश्व हुलाक सङ्घको महासभाले अक्टोबर ९ लाई ‘विश्व हुलाक दिवस’का रूपमा घोषणा गरेको थियो। त्यसयता विश्वका अधिकांश देशहरूले हुलाक सेवाको योगदान र यसको आधुनिकिकरणप्रति जनचेतना अभिवृद्धि गर्न यो दिवस मनाउँदै आएका छन्।

दिवसका अवसरमा विभिन्न देशका हुलाक विभागहरूले नयाँ हुलाक सेवा र उत्पादनहरूको प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। नेपालमा पनि हुलाक सेवाको सुधार, डिजिटलीकरण र ग्रामीण पहुँच विस्तारका विषयमा छलफल र सार्वजनिक कार्यक्रमहरू आयोजना हुने गरेका छन्।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जारी गरेको सन्देशमा हुलाक सेवाले सहरी र ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ। उनका अनुसार, हुलाक कर्मचारीको सञ्जालले दुर्गम गाउँ र शहरहरूलाई जोड्दै विश्वलाई सबैको पहुँचमा पुर्‍याएको छ, जसले सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्