ओलीको आरोप — ‘अहिलेको सरकार संविधानविपरीत, बलमिच्याईँले बनेको हो’
भक्तपुर,असोज २३ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको राजनीतिक परिस्थिति असाधारण र असामान्य रहेको बताएका छन्। भक्तपुर जिल्ला कमिटीले आज आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले वर्तमान सरकार संविधानअनुसार नभई “बलमिच्याईँ” गरेर बनेको दाबी गरे।
उनका अनुसार, अहिलेका प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बन्नका लागि संसद् भङ्ग गर्ने पूर्वसर्त राखेर लोकतन्त्रको जग हल्लाएको बताए। ओलीले भने, “अहिले देशमा सरकार छ तर यो संविधानअनुसार बनेको होइन। बलमिच्याईँले बनेको सरकार हो। प्रधानमन्त्री बन्नका लागि उहाँले संसद् तुरुन्तै भङ्ग गर्ने सर्त राख्नुभयो।”
उनले प्रधानमन्त्री कार्कीमाथि संविधानको उल्लङ्घन गरेको आरोप पनि लगाए। ओलीले भने, “नेपालको संविधानले स्पष्ट रूपमा भन्छ — प्रधानन्यायाधीश भइसकेको व्यक्ति कुनै पनि सरकारी लाभका पदमा बस्न सक्दैन। तर उहाँ प्रधानमन्त्री बन्नुभयो, यो स्पष्ट रूपमा संविधान विपरीत हो।”
पूर्वप्रधानमन्त्री ओलीले आन्दोलनको नाममा जनतालाई उक्साउने कार्य हुँदै आएको उल्लेख गर्दै भने, “संसद् भङ्ग गर्ने सर्तमा प्रधानमन्त्री बन्नु जनताको सर्वोच्च संस्था संसद र लोकतन्त्रको जग भत्काउने कार्य हो।”
उनले जेनजी आन्दोलनका क्रममा सुशीला कार्की सडकमा उत्रिएको प्रसङ्ग कोट्याउँदै थपे, “उहाँ चुनाव गराउने भनेर उत्रिनुभएको होइन, त्यो त राष्ट्रपतिले तोकिदिएको म्यान्डेट हो, उहाँहरूको होइन।”
कार्यक्रममा ओलीले सरकारको वर्तमान कदम र संविधानविपरीतका कार्यले मुलुकलाई अनिश्चित दिशातर्फ डोर्याइरहेको आरोप समेत लगाए।

