नुवाकोट शिवपुरीका एकै परिवारका तीनसहित ४ जना बेपत्ता



नुवाकोट, असोज २३ — नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७, सुनखानी बस्ने एकै परिवारका तीनजनासहित चारजना व्यक्ति रहस्यमय ढंगले बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा ४० वर्षका दिपक भेटुवाल, उनकी छोरी १८ वर्षीया सुस्मिता भेटुवाल, छोरा १४ वर्षका युनिक भेटुवाल र छिमेकी ४२ वर्षीया जानकी तामाङ रहेका छन्। उनीहरू हिजो असोज २२ गतेदेखि सम्पर्कविहीन रहेका हुन्।

स्थानीय नमराज भेटुवालका अनुसार दिपक भेटुवालले शिवपुरी गाउँपालिकाको शेरा बगरस्थित सानिमा बैंकबाट करिब ७ लाख रुपैयाँ झिकेका थिए। त्यसपछि उनीहरू ट्याक्सी चढी गल्छी नाकासम्म पुगेको देखिएको र त्यसपछि सम्पर्क टुटेको जानकारी प्राप्त भएको छ।

हाल सबैको मोबाइल फोन बन्द रहेको र उनीहरू कहाँ र किन गएका भन्ने स्पष्ट जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । दिपक भेटुवालकी श्रीमतीले आँसु झार्दै श्रीमान र छोराछोरीको खोजीमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन्। उनीहरूलाई देख्ने जो कसैले पनि नजिकको प्रहरी कार्यालयमा वा ९८५१०७१०६५ नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्