नयाँ नेपालको जग बसाउन आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक : प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ, असोज २४ — प्रधानमन्त्री सुशीला कार्कीले नयाँ नेपालको निर्माणका लागि आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनुभएको छ।
जेनजी आन्दोलन एक महिना पूरा भएको अवसरमा बिहीबार प्रधानमन्त्री कार्कीले जारी गर्नुभएको सन्देशमा उहाँले नेपाली जनताले परिवर्तनका क्रममा देखाएको साहस, त्याग र एकताप्रतिको प्रतिबद्धताले मुलुकलाई नयाँ दिशातर्फ उन्मुख बनाएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले भन्नुभयो, “हाम्रो मुलुक अहिले परिवर्तनको निर्णायक चरणमा छ। यस्तो अवस्थामा राजनीतिक दल, नागरिक समाज, युवा, महिला, सबै वर्ग र समुदायबीचको आपसी सद्भाव र एकता नै नयाँ नेपालको जग बसाउने आधार हो।”
उहाँले जेनजी आन्दोलनले जनताको आवाजलाई संस्थागत गर्न ठूलो योगदान दिएको र अब त्यसलाई दीगो बनाउने जिम्मेवारी सबै नेपालीमा रहेको पनि बताउनुभयो।
प्रधानमन्त्री कार्कीले सन्देशमा राष्ट्रिय हित, समृद्धि र लोकतान्त्रिक मूल्यमा एकताबद्ध भएर अघि बढ्ने आह्वान गर्दै आगामी निर्वाचनलाई नयाँ नेपालको स्थायित्वको अवसरका रूपमा लिन सबैलाई आग्रह गर्नुभएको छ।

