धादिङका स्थानीय तहबाट पशुधन सुरक्षाको पहल, किसान व्यवसायमुखी बन्न थाले



धादिङ,असोज २४ — धादिङका स्थानीय तहहरूले किसानको पशुधन सुरक्षा र आयवृद्धिलाई लक्षित गर्दै विभिन्न सहयोगी कार्यक्रम सञ्चालन गर्न थालेपछि किसानहरू पशुपालनतर्फ आकर्षित भएका छन्।

स्थानीय तहहरूले किसानले पालेका गाई, भैँसी, बाख्रा, बाख्री लगायतका पशु चौपायाको विमा, रोग उपचार, र सुत्केरी भत्ता समेत दिने योजना लागू गरेपछि यस क्षेत्रका किसानहरू निर्वाहमुखी खेतीबाट व्यवसायमुखी पशुपालनतर्फ उन्मुख भएका हुन्।

गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाका अनुसार, स्थानीय तहको यो अभियानले ग्रामीण क्षेत्रमा रहेका किसानहरूको आर्थिक सुधार र आत्मनिर्भरता बढाएको छ। उहाँले भन्नुभयो, “पशुधन सुरक्षाका यस्ता योजनाले किसानलाई घाटा बेहोर्नु नपर्ने र पशुपालनलाई टिकाउ पेशा बनाउन सहयोग पुगेको छ।”

स्थानीय तहहरूले पशु रोग नियन्त्रण, उपचार, र उत्पादन बिक्रीमा आधारित अनुदानका योजना ल्याएका छन्। यसका कारण किसानहरूले पालेका पशुहरूको निःशुल्क विमा र औषधि उपचारमा सहजता पाएका छन्।

पहिले घरायसी प्रयोजनका लागि मात्रै पशुपालन गर्ने किसानहरू अहिले आर्थिक आम्दानीका लागि पशु संख्या बढाउँदै लगेका छन्। सर्वेक्षणले देखाएको छ कि यस्ता स–साना सुविधा र अनुदानका कारण गाउँमा रहेका युवाहरू पनि स्वरोजगार र आत्मनिर्भर बन्न थालेका छन्।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले भन्नुभयो, “युवालाई गाउँमै उद्योग र कृषि व्यवसायसँग जोड्दै आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो।”

धादिङका स्थानीय तहहरूले सञ्चालन गरेका यस्ता कार्यक्रमहरूले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन ठोस योगदान पुर्‍याएको किसान र स्थानीय निकायहरूको साझा मत रहेको छ।

प्रतिक्रिया दिनुहोस्