हमासले सार्वजनिक गर्यो युद्धवन्दीको नामावली, नेपाली विपिन जोशीको नाम सूचीमा परेन
काठमाडौं,असोज २४ — इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकु समूहले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम समावेश गरिएको छैन।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र छाडिने भनिएका २० जना सबै इजरायली नागरिकहरू हुन्। राजदूत पण्डितले विपिन जोशीको नाम सूचीमा नपरेको पुष्टि गर्दै उनको अवस्थाबारे अहिले पनि स्पष्ट जानकारी नआएको बताए।
अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध रोक्ने सहमति गत बिहीबार भएको थियो। उक्त सहमति अनुसार पहिलो चरणमा हमासको कब्जामा रहेका ५० जना (जीवित र मृतक) युद्धवन्दीहरूलाई मुक्त गर्ने निर्णय भएको थियो।
युद्धविरामपछि विश्वभरका नेपाली समुदायले हमासको कब्जामा परेका विपिन जोशीको सकुशल उद्धारका लागि चासो व्यक्त गर्दै आएका छन्। तर, जोशीको अवस्थाबारे न त हमासले र न इजरायली पक्षले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
विपिन जोशी इजरायलको किवुत्ज शहरमा रहेका बेला हमासको आक्रमणपछि बेपत्ता भएका थिए। उनका परिवार र नेपाली सरकार दुवै पक्षले उनको खोजी र उद्धारका लागि प्रयास जारी राखेका छन्।

