चौतिस लाख बराबरका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रण



मकवानपुर,असोज २४ । मकवानपुर प्रहरीले चौतिस लाख रुपैयाँ बराबरका भन्सार छलि गरी ल्याइएका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ९०२३ नम्बरको योद्धा गाडी रोकी जाँच गर्दा प्रतिबन्धित पटका र भन्सार छलिका अवैध कपडा करामद गरेको हो ।

गाडीको पछाडिको ढालाभित्र भन्सार छलि गरी लुकाइ–छिपाइ ल्याइएका साडी १ सय ३० थान, कुर्ता ६ सय ९६ थान र टप्स १ सय ७५ थान गरी करिब रु. १४ लाख बराबरका कपडा बरमद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त पुष्कर बोगटीले जानकारी दिनुभयो ।

त्यसैगरी सोही गाडीभित्र रु. २० लाख बराबरका प्रतिबन्धित पटकाजन्य पदार्थ (झिरझिरेलगायत) समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सो गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

लङ्गुर बुर्जा खेलाउँदै गरेका पाँच जना पक्राउ

यस्तै, प्रहरीले हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकबाट अबैध रुपमा लङ्गुर बुर्जा जुवा खेलाउँदै आएका पाँच जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले लङ्गुर बुर्जाको गट्टी र १ खाल सेट सहित नगद तीन लाख नौ सय पैसठ्ठी बरामद गरेको प्रवक्ता बोगटीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–८ नमुना चोकका २७ वर्षीय रामकृष्ण मैनाली,  मकवानपुरगढी गाउँपालिका–४ घर भई हाल हेटौंडा–५ बस्ने ४२ वर्षीय दिपक अर्याल, हेटौंडा–१७ घर भई हाल हेटौंडा–१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौंडा–९ घर भई हाल हेटौंडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौंडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्