अध्यक्ष ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित
काठमाडौं,असोज २५ — नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन्।
शुक्रबार अबेरसम्म बैठकमा सहभागी भएकाले अध्यक्ष ओलीले शनिबार आराम गर्ने इच्छा व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो। शुक्रबारको बैठकमा अधिकांश सदस्यहरूले तत्काल अर्ली महाधिवेशन बोलाउन दबाब दिएका थिए।
त्यसैगरी, सोही बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यहरूले ओलीको विकल्प खोज्नुपर्ने विषयमा समेत एकमत रहेको दाबी गरिएको छ।

