इलामलाई सङ्कटग्रस्त जिल्ला घोषणा, पुनर्निर्माणमा तीनै तहका सरकारको ध्यान केन्द्रित गर्न मन्त्री घिसिङको आग्रह
इलाम,असोज २५ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी र पहिरोका कारण विपद्को चपेटामा परेको इलामलाई सरकारले सङ्कटग्रस्त जिल्ला घोषणा गरेको जानकारी दिनुुभयो। इलामको विभिन्न प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्री घिसिङले पुनर्निर्माण र पुनर्स्थापनाका लागि तीनै तहका सरकार, दातृ निकाय र निजी क्षेत्रको ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो।
मन्त्री घिसिङले मेची राजमार्गको राजदुवालीस्थित माईखोला माथिको पहिरोग्रस्त क्षेत्रको अवलोकनपछि तत्कालका लागि सडक सुचारु गराउने र दीर्घकालीन समाधानका उपाय खोजिने जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “आज भित्र वा भोलिसम्ममा राजमार्ग सुचारु गराउने काम भइरहेको छ। अध्ययनमार्फत वैकल्पिक मार्ग वा स्थायी समाधानको खोजी गरिनेछ। सडक, पूर्वाधार, खानेपानी र विद्युत् सबै क्षेत्रमा काम अघि बढाउनेछौं।”
सो अवसरमा गृहसचिव रामेश्वर दङ्गालले उद्धार, राहत र अस्थायी पुनर्स्थापनापछि दीर्घकालीन पुनर्निर्माणको चरणमा प्रवेश गरिने बताउनुभयो। भौतिक पूर्वाधार सचिव केशबकुमार शर्माले मेची राजमार्ग सुचारु गराउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
मन्त्री घिसिङले रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका प्रमुख–उपप्रमुखसँग पनि विपद्सम्बन्धी छलफल गर्नुभएको थियो। रोङ गाउँपालिका प्रमुख मनिकुमार स्याङ्बोका अनुसार मन्त्रीलाई स्थानीय अवस्थाबारे जानकारी गराइँदै पुनर्निर्माणका लागि सहयोगको माग गरिएको हो।
यसबीच, गृहमन्त्री ओमप्रकाश अर्यालको भ्रमण भने पछिल्लो समयमा आएर स्थगित गरिएको बताइएको छ।

