सिन्धुलीको सिम्लेमा जमिन भासिँदा हायु बस्ती जोखिममा, पुनर्वासको माग
सिन्धुली,असोज २६ — कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएपछि सम्पूर्ण हायु समुदायको बस्ती जोखिममा परेको छ। शुक्रबार जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत निरीक्षण गरे पनि प्रभावित परिवारमा उत्साह देखिएन। उनीहरूले सरकारका प्रतिनिधिसँग सहयोगको याचना गरे तर तत्कालै राहत वा पुनर्वासको अपेक्षामा आश्वस्त हुन सकेनन्।
स्थानीयवासीहरूको भनाइअनुसार, यहाँ न पहिलोपटक जमिन भासिएको हो, न त पहिलोपटक सरकारी टोली आएको हो। गत वर्ष पनि यस्तै निरीक्षण भए तापनि जोखिम न्यूनीकरणका लागि ठोस पहल नभएको गुनासो प्रभावितहरूको छ।
“जमिन चिरा–चिरा परेर फाटेको छ, घर ढल्किएका छन्, पानी पर्यो कि मुटु काम्न थाल्छ,” प्रभावित पूर्णिमाया हायुले बताइन्, “सरकारका मान्छे हेर्न त आउँछन्, तर दुःख हटाउन केही गर्दैनन्।”
त्यस्तै, स्थानीय फूलकुमारी हायुले भनिन्, “घरको आधा भाग झुकेको छ, खेत र बस्ती तल सर्दै गएको छ। कहाँ जाने? हाम्रो जग्गा–जमिन सबै यहीँ छ।”
वडा नं. १ का अध्यक्ष नरेश गोलेका अनुसार, सिम्लेको हायु बस्ती एक वर्षदेखि जोखिममा छ र सुरक्षित आश्रयस्थल नहुँदा स्थानीय अझै पनि असुरक्षित बस्तीमै बस्न बाध्य छन्। “अघिल्लो वर्षदेखि नै करिब २०० भन्दा बढी व्यक्ति प्रभावित छन्,” उहाँले भन्नुभयो, “असोज १७ देखि २१ गतेसम्मको अविरल वर्षापछि जमिन थप भासिँदै गएको छ। अब बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन।”
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सम्बन्धित निकायमा प्रतिवेदन पठाएर समस्या समाधानका लागि समन्वय गरिने बताए। “हायु परिवार त्रासमा छन्। हामीले जोखिममा रहेका बस्ती पुगेर संवाद गरेका छौँ र विपद् व्यवस्थापन समितिको बैठकबाट तत्काल निर्णय लिनेछौँ,” उहाँले भने।
नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिनुभयो।
वर्षौँदेखिको थातथलो गुमाउने अवस्थामा पुगेको हायु समुदाय अहिले अस्तित्वकै संकटमा छ। स्थानीयले तत्काल सुरक्षित पुनर्वास र दीर्घकालीन समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा ठोस कदम चाल्नुपर्ने माग गरेका छन्।

