जेनजी आन्दोलनका प्रतिनिधिद्वारा आगामी निर्वाचनमा सबै दललाई भाग लिन आह्वान
काठमाडौं,असोज २६— जेनजी आन्दोलनका प्रतिनिधिहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबै राजनीतिक दल र तह–तप्कालाई भाग लिन आह्वान गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले निर्वाचन लोकतान्त्रिक अभ्यासको अनिवार्य हिस्सा भएकाले सबै दल सहभागी हुनुपर्ने बताएका हुन्।
जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले भने, “निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, यसलाई कसैले रोक्न सक्दैन। सबै दलहरू आउनुहोस्, जनताले चाहेको प्रतिनिधि चुनून्। निष्पक्ष प्रतिष्पर्धा होस् भन्ने हाम्रो चाहना हो।”
उनका अनुसार, संसदीय अभ्यासमा रहेका पुराना दलहरूले निर्वाचनमा भाग नलिए देशमा राजनीतिक रिक्तता उत्पन्न हुने भएकाले घोषित निर्वाचनलाई अवसरका रूपमा लिनुपर्ने धारणा समूहको रहेको छ।
ढुंगानाले हालको मन्त्रिपरिषद्मा सडक आन्दोलनलाई उचाइमा पुर्याउन योगदान गर्ने व्यक्तिहरूलाई समावेश गर्नुपर्ने स्पष्ट मत पनि व्यक्त गरे।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शुक्रबार अघिल्लो संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू र सरकारबीच आगामी निर्वाचनका विषयमा छलफल भएको थियो। उक्त छलफलमा दलका तर्फबाट शान्ति–सुरक्षासहितको वातावरणमा चुनाव हुनुपर्ने भनिएको थियो भने सरकारका तर्फबाट सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरिएको थियो।

