दाउन्ने सडकमा धुलोको त्रास, यात्रु हैरान
चितवन,असोज २६— वर्षा सकिएसँगै पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने सडक खण्ड फेरि पनि धुलोको त्रासमा परेको छ। वर्षामा हिलाम्मे भएर गाडी आवतजावत रोकिने यो सडक अहिले धुलोले भरिएको छ ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेका यात्रु रामप्रसाद श्रेष्ठले बसको झ्याल बन्द गर्दा गर्मी र खोल्दा धुलोले हैरान पार्ने बताउनुभयो। उहाँले सडक विस्तारको काम पूरा नभएसम्म चिनियाँ ठेकेदार कम्पनीले नियमित रूपमा धुलो रोक्न पानी छर्किनुपर्नेमा बेवास्ता गरेको गुनासो गर्नुभयो।
तर ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झालका अनुसार पानी हालेपनि चर्को घामका कारण तुरुन्तै सुक्ने समस्या हुने बताउनुभयो। “धेरै पानी हाल्दा गाडी चिप्लिन्छ, हल्का हाल्दा सुकिहाल्छ, त्यसैले समस्या भइरहेको छ,” उहाँले भन्नुभयो।
दाउन्नेको पूर्वी भागको करिब ९ किलोमिटर सडक अझै कच्ची रहेको छ भने दुई स्थानमा सडक एकतर्फी सञ्चालन भइरहेको छ। कतिपय ठाउँमा गरिएको ढलान पनि भत्कन थालेको छ। आरुणखोला र दुम्किबास बजार क्षेत्रमा अझै पिच गरिएको छैन।
दशैंअघि प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेसँगको छलफलमा ठेकेदार कम्पनीले निर्माण सकिएका पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम अझै पूरा भएको छैन।
कम्पनीका अनुसार अहिले पनि कल्भर्ट, नाली निर्माण र ढलानको तयारीजस्ता काम भइरहेका छन्। चाडपर्वको मौसम भएकाले सडकमा सवारीसाधनको चाप कम रहेको ट्राफिक प्रहरीले जनाएको छ।
सडक आयोजनाका अनुसार साउन ८ गते चौथो पटक म्याद थपिँदा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको थियो। पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) को म्याद २०८३ साउन ७ गते र पश्चिम खण्ड (दाउन्ने–बुटवल) को म्याद २०८३ साउन ५ गते सम्म थपिएको हो। पछिल्ला दुई महिनामा भने केवल २ प्रतिशत मात्र प्रगति भएको आयोजनाले जनाएको छ।

