छहरे-टोखा अन्तर्गत घट्टेखोलामा कुखुरा बोक्ने गाडीले मुहानको पानी दूषित पार्दै
नुवाकोट, असोज २६। छहरे–टोखा सडकअन्तर्गत घट्टेखोला क्षेत्रमा कुखुरा बोक्ने गाडीले खोलाको पानी दूषित पार्ने कार्य दोहोर्याउँदै आएको स्थानीयवासीले गुनासो गरेका छन्।
स्थानीयका अनुसार सुलीसहित कुखुरा बोकिएको गाडी घट्टेखोलाको खोल्सीखाल्सी भाग हुँदै पानीमा पसेर सरसफाइ गरेपछि मुहानदेखि तल्लो क्षेत्रसम्मको पानी दूषित भइरहेको छ। बारम्बार आग्रह गर्दा पनि यस्तो कार्य रोकिएको छैन।
घट्टेखोला, छहरे टोखा सडकखण्डभन्दा तलतिर पर्ने घट्टेदेवी मन्दिर, तारेभिर, काल्ले, टार, पचासे, जलबिरे, खनियाचौर, थापागाउँ, कल्लाबारी, जागरुक सहकारी हुँदै वडा नं. ८ कार्यालय, कोइराले खोले टोल, घट्टेको पाठक टोल, बरपिप्ले टोल र तोरीचौरसम्मका बासिन्दाले यही पानी दैनिक प्रयोग गर्दै आएका छन्।
स्थानीयहरूले उक्त पानी पिउन, नुहाउन, पशुचौपायलाई पिलाउन र धार्मिक एवम् सामाजिक कार्यमा प्रयोग गर्दै आएका छन्। दूषित पानीका कारण स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै उनीहरूले यस घटनाप्रति आक्रोश व्यक्त गरेका छन्।
सामाजिक सचेत नागरिकहरूले यस किसिमको असामाजिक गतिविधि तत्काल रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
प्रहरीलाई यस्ता कार्यबारे जानकारी गराउन अस्थायी प्रहरी पोस्ट छहरेले सम्पर्क नम्बर ९८५१२८३२६८ मा जानकारी दिन आग्रह गरेको छ। “स्थानीयको सहयोगले मात्र असामाजिक कार्य नियन्त्रण गर्न सकिन्छ,” प्रहरीले जनाएको छ।

