एमालेको निर्णय : संसद् पुनःस्थापनाको माग र मंसिर अन्त्यमा महाधिवेशन



काठमाडौं,असोज २७। नेकपा (एमाले)ले पार्टीको महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने र संसद् पुनःस्थापनाका लागि दबाबमूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

तीन दिनदेखि चलिरहेको पार्टी पदाधिकारी बैठकले प्रतिगमनविरुद्ध एकजुट हुने र यी विषयलाई आगामी केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता ज्ञवालीले आगामी असोज २९, ३० र ३१ गते हुने केन्द्रीय कमिटी बैठकमा महाधिवेशन, संसद् पुनःस्थापना र राजनीतिक संकटको निकासका एजेन्डामा छलफल हुने बताउनुभयो।

उनले सरकारले अवैधानिक रूपमा राहदानी रोक्का गर्ने कार्य गरेको आरोप लगाउँदै भने, “सरकार चुनावका लागि तयार छैन। प्रहरी चौकी लुट्नेलाई कारबाही भएको छैन, जेल तोडेर कैदी बाहिर छन्, चौकी पुनःस्थापना भएको छैन— यस्तो अवस्थामा चुनाव कसरी सम्भव हुन्छ?”

नेता ज्ञवालीका अनुसार पार्टीले संसद् पुनःस्थापनालाई अहिलेको समस्याको निकासको बाटोका रूपमा अघि सारेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागबारे भने उनले “अनावश्यक हल्ला बाहिर आएको” टिप्पणी गरे।

“नेतृत्वको विषयमा छलफल भएको हो, तर हामी महाधिवेशनमा जान्छौं र प्रतिगमनविरुद्ध साझा निचोडमा पुगेका छौं,” उनले स्पष्ट पारे।

महाधिवेशनको ठ्याक्कै मिति र स्थान भने आगामी केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्