करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने : मन्त्री खरेल



काठमाडौँ,असोज २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करार सेवामा कार्यरत कर्मचारीहरूलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा आइतबार अनुगमन तथा निरीक्षण गर्नुभएका मन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरूले ‘पेन्सन’ लगायतका सुविधा पाउने भएकाले करार सेवाका कर्मचारीहरूलाई समेत सुरक्षा प्रणालीमा समावेश गर्न आवश्यक रहेको बताउनुभयो।

मन्त्री खरेलले भन्नुभयो, “करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्न जरुरी छ। सरकार सबै सञ्चारकर्मीहरूलाई पनि सो कोषको पहुँचमा ल्याउन लागिपरेको छ।”

उहाँले अनौपचारिक क्षेत्रमा कार्यरत नागरिकहरूलाई समेत सामाजिक सुरक्षा कोषमा समेट्ने काममा सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो। हाल कोषमा निजामती, औद्योगिक, श्रमिक तथा केही संस्थागत क्षेत्रका कामदार मात्र रहेका छन्। धेरैजसो करारमा आधारित कामदार तथा अनौपचारिक क्षेत्रका नागरिक अझै प्रणालीबाहिर रहेकाले ठोस नीति, बजेट र सचेतनामूलक अभियानमार्फत विस्तार गर्ने तयारी सरकारको रहेको उहाँको भनाइ छ।

समितिका अध्यक्ष सङ्गीता खड्काले करारमा कार्यरत कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गरे हजारौँ कर्मचारी दीर्घकालीन रूपमा लाभान्वित हुने बताउनुभयो।

स्मरण रहोस्, सरकारले श्रमजीवी पत्रकार ऐन, २०५१ र नियमावली २०५३ बमोजिम पारिश्रमिक निर्धारण, वर्गीकरण तथा सञ्चार प्रतिष्ठानहरूको अनुगमन गर्नका लागि न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गरेको हो।

प्रतिक्रिया दिनुहोस्