नुवाकोटमा बेपत्ता स्कुले बालिकाको शव एक महिनापछि फेला



नुवाकोट,असोज २७ । नुवाकोटको तादी खोलामा हराएकी एक स्कुले बालिकाको शव एक महिनापछि फेला परेको छ।

गत भदौ २२ गते घाँस काट्न जाने क्रममा लिखु खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया रश्मी श्रेष्ठको शव आइतबार फेला परेको हो। रश्मी लिखु गाउँपालिका–४ घर भई क्षेत्रफाल माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिइन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनको शव बगाएको स्थानभन्दा करिब सात किलोमिटर दक्षिणमा पर्ने बेलकोटगढी नगरपालिका–९ डुम्रेवगरस्थित तादी खोलाको किनारमा फेला परेको हो।

प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार शव खोलाको पानीमा डुबेर ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटिएको हो। “शव सडेगलेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,” उहाँले बताउनुभयो।

बालिकाको शवलाई त्रिशूली अस्पतालमा पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्