नुवाकोट पञ्चकन्याका किसान काँक्रो खेतीतर्फ आकर्षित, स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री
• देवचन्द्र भट्ट
नुवाकोट,असोज २७ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका किसानहरू पछिल्ला वर्षमा काँक्रो खेतीतर्फ आकर्षित भएका छन्। स्थानीयस्तरमा राम्रो उत्पादन र बजारको सहज पहुँचका कारण यो खेती किसानहरूको प्रमुख आम्दानी स्रोत बन्दै गएको छ।
पञ्चकन्याका घलेगाउँ, नेवारपानी, चुहानडाँडा र जैसिगाउँका एक सयभन्दा बढी घरधुरीले यस वर्ष काँक्रो खेती गरेका छन्। किसानहरूले उत्पादन गरेको काँक्रो स्थानीय बजारसँगै ढिकुरे, छहरे, खरानीटार, विदुर, बट्टार, त्रिशूली हुँदै काठमाडौंसम्म पठाउने गरेका छन्।
स्थानीय कृषक फूलमान तामाङका अनुसार रोपेको करिब ४५ देखि ५० दिनमै काँक्रो फल्न सुरु गर्छ र तीन महिनाभित्र सकिएपछि अर्को बाली लगाउन जमिन तयार हुन्छ। “यो खेती छोटो अवधिमा राम्रो आम्दानी दिने भएकाले धेरै किसान यसको आकर्षणमा छन्,” तामाङले भने।
किसान पासाङ लामाका अनुसार यो सिजनमा उनले करिब एक लाख रुपैयाँ बराबरको काँक्रो बिक्री गरिसकेका छन्। चाडपर्व नजिकिँदै गर्दा बजार माग बढेकाले बिक्री सहज भएको उनले बताए।
पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) का अनुसार यातायात सहज भएपछि गाउँमै उत्पादन भएको काँक्रो सहजै बजारसम्म पुग्ने र किसानले राम्रो आम्दानी गर्न थालेका छन्।
उपाध्यक्ष विमला पाठक केसीले किसानहरू काँक्रो टिपेर बजार पुर्याउने व्यवस्थापनमा सक्रिय रहेको बताउँदै, “यो खेतीले स्थानीय स्तरमा आम्दानीको भरपर्दो स्रोत कायम गरेको छ,” भनिन्।

