सन्दीपको पाँच विकेटसहित नेपालको रोमाञ्चक जित, कतारलाई ५ रनले पराजित



ओमान,असोज २८ — सन्दीप लामिछानेको जादुमयी बलिङ प्रदर्शनसँगै नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगितामा कतारलाई ५ रनले पराजित गरेको छ। गएराति ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा सम्पन्न सुपर सिक्सको रोमाञ्चक खेलमा नेपालले १४८ रनको लक्ष्य रक्षा गर्दै महत्त्वपूर्ण जित दर्ता गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको बलमा ९ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। रोहितले ५८ रनको उत्कृष्ट पारी खेले भने दीपेन्द्रसिंह ऐरिले २६ रन, गुल्सन झाले दुई छक्कासहित १६ रन र सोमपाल कामीले १४ रनको योगदान गरे। कतारका मिर्जा मोहम्मद बेइग र ड्यानियल आर्चरले समान तीन–तीन विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा कतारले एक समयमा १३ औं ओभरसम्म दुई विकेटमा १०५ रन जोडेको थियो र जित तिनकै पक्षमा देखिएको थियो। तर, सन्दीप लामिछानेको घातक स्पेलसँगै खेलमा नाटकीय मोड आयो। उनले १०औं ओभरको अन्तिम बलमा अर्धशतकीय ब्याटर इमाल लियानेजलाई बोल्ड गर्दै पहिलो सफलता दिलाए।

अन्तिम ओभरमा कतारलाई जितका लागि १० रन चाहिएको अवस्थामा कप्तान रोहित पौडेलले सन्दीपलाई अन्तिम ओभरको जिम्मा दिए। उनले लगातार दुई बल ‘डट’ फ्याँकेपछि तेस्रो बलमा आमिर फरुकलाई स्टम्प आउट गराए। बाँकी दुई बलमा मात्र दुई रन दिँदै नेपाललाई जित दिलाए। सन्दीपले ५ विकेट हात पारेका थिए भने नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरिले १ विकेट लिए।

यस जितसँगै नेपाल ६ अंकसहित सुपर सिक्सको अंकतालिकामा दोस्रो स्थानमा पुगेको छ। अब नेपालले भोलि शीर्ष स्थानमा रहेको ओमानलाई हराए विश्वकपको यात्रा सुनिश्चित गर्नेछ।

नेपालले यसअघि सुपर सिक्सको पहिलो खेलमा जापानलाई ५ विकेटले र दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई १ रनले पराजित गरेको थियो। अर्को खेलमा नेपालले शुक्रबार समोआसँग भिड्नेछ।

प्रतिक्रिया दिनुहोस्