हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गर्‍यो



काठमाडौं,असोज २८ — प्यालेस्टिनी लडाकु समूह हमासले नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरेको छ। बीबीसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार, इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश छ।

हमासले यसअघि बन्धक बनाइएका २० जना जीवित इजरायलीलाई अन्तर्राष्ट्रिय रेडक्रसको सहकार्यमा सोमबार इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो। त्यसपछि बाँकी २८ जनाको शव पनि क्रमशः फिर्ता गर्ने बताइएको थियो। सोमबार नेपालका विपिन जोशीसहित गाइ इलौज, यासी साराबी र डानिल पिरेजको शव हस्तान्तरण गरिएको बीबीसीले उल्लेख गरेको छ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज आलुमिममा हमासको आक्रमणपछि २३ वर्षीय विपिन जोशीलाई बन्दी बनाइएको थियो। उनी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक महिनाअघि मात्र ‘सिक एंड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि पुगेका थिए।

यसअघि इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण नपाइएको र इजरायली सुरक्षा निकायले परिवारलाई उनको मृत्युबारे औपचारिक जानकारी दिएको बताएका थिए।

२०८० साल भदौको अन्तिम साता विपिनसहित ४९ जना नेपाली विद्यार्थी इजरायल पुगेका थिए। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए।

सँगै रहेका साथीलाई जोगाउन खोज्ने क्रममा विपिनलाई हमासले बन्दी बनाएको भिडियो फुटेज पनि सार्वजनिक भएको थियो। २०५७ सालमा बैतडीको तत्कालीन विजयपुर गाविस (हालको पुर्चौडी नगरपालिका–१०) मा जन्मिएका विपिन बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा हुन्।

दुई वर्षदेखि जारी इजरायल–हमास युद्धमा हालै भएको युद्धविरामपछि हमासले बन्धक बनाइएका ४८ जनामध्ये २० जनालाई जीवितै रिहा गरेको हो। अन्तर्राष्ट्रिय रेडक्रसमार्फत दुई चरणमा ती बन्धकहरू इजरायल सरकारलाई जिम्मा लगाइएको थियो।

इजरायल सरकारले उद्धार गरिएका सबैलाई स्वागत गर्दै आवश्यक उपचारको व्यवस्था गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत इजरायल पुगेर बन्धक परिवारहरूसँग भेट गरी संवेदना व्यक्त गरेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्