सर्वोच्च अदालतमा आजदेखि नयाँ रिट निवेदन दर्ता सुरु



काठमाडौं, असोज २८ —जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि स्थगित सर्वोच्च अदालतको नियमित सेवा आजदेखि पुनः सुरु भएको छ। अदालत प्रशासनका अनुसार असोज २८ गतेदेखि विभिन्न कानुनी संहिताअन्तर्गत पर्ने रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया सुरु गरिएको हो।

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिअनुसार, आजदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू दर्ता गर्न सकिनेछ।

यसअघि, आइतबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत भवनमा आगजनी हुँदा धेरै मिसिल र पुराना कागजातहरू जलेर नष्ट भएका थिए। उक्त घटनापछि अदालतको नियमित सेवा स्थगित भएको थियो।

तर, बन्दी प्रत्यक्षीकरणजस्ता अत्यावश्यक मुद्दाहरूको सुनुवाइ भने अदालत परिसरमा टेन्ट टाँगेर सञ्चालन गरिएको थियो।

अदालतले जारी गरेको सूचनामा भनिएको छ— “नियमित सेवा पुनः सञ्चालन नभएसम्म म्याद, हदम्याद र तारेख नगुज्रने व्यवस्था यथावत् रहनेछ।”

प्रतिक्रिया दिनुहोस्