नुवाकोट दुप्चेश्वरको चन्द्रावती पुल निर्माण ढिलाइ, म्याद अन्तिमपटक पुस ३० सम्म थप
नुवाकोट, असोज २८ —दुप्चेश्वर गाउँपालिकाको वडा नं ५ र वडा नं ६ जोड्ने चन्द्रावती खोलामा निर्माणाधीन पक्की पुलको निर्माण लामो समयदेखि रोकिएको छ। पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि यस विषयमा सम्बन्धित निकायबीच छलफल बैठक सम्पन्न भएको छ।
२०७७ साल असार २२ गते सम्झौता गरिएको उक्त पुल निर्माणको ठेक्का एमएस ड्रागन/कडेल जेभी कम्पनीले लिएको हो। तर, ठेकेदार कम्पनीले हालसम्म निर्माण कार्य पूरा नगरेपछि पूर्वाधार विकास कार्यालय नुवाकोटका कार्यालय प्रमुख सुजन थापाको संयोजनमा बागमती प्रदेश सभाकी निवर्तमान उपसभामुख एवं सांसद राधिका तामाङको नेतृत्वमा छलफल गरिएको हो।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ लगायतको उपस्थिति रहेको थियो।
छलफलका क्रममा कार्यालय प्रमुख थापाले पुल निर्माणको म्याद अन्तिम पटक २०७९ पुस ३० गतेसम्म थपिएको जानकारी गराएका थिए। त्यस क्रममा सांसद तामाङले निर्माण कार्य तत्काल सुरु गरी तोकेको म्यादभित्र काम सम्पन्न गर्न निर्देशन दिएकी थिइन्।
उनले तोकिएको समयसीमाभित्र पुल निर्माण पूरा नभएमा आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनी पनि दिइन्।

