विश्व कराते छनोट प्रतियोगितामा नेपालका चार खेलाडी प्रतिस्पर्धा गर्न पेरिस प्रस्थान
काठमाडौँ,असोज २९ —विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। फ्रान्सको पेरिसमा यही असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि ६ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दै छ।
नेपालबाट एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। पुरुष एकल कातामा स्वनिम मानन्धर प्रतिस्पर्धा गर्ने छन् भने महिला तर्फ एरिका गुरुङ (६८ किलोमाथि), वर्षा बुढा (५० किलोमुनि) र सविना श्रेष्ठ (५५ किलोमुनि) ले आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।
प्रतियोगितामा स्वनिमको समूहमा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाको समूहमा ४६ जना प्रतिद्वन्द्वी रहनेछन्। प्रत्येक स्पर्धामा शीर्ष ६ स्थानमा पर्ने खेलाडीले आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको कायरोमा हुने २७औँ विश्व कराते च्याम्पियनसिपमा स्थान बनाउनेछन्।
छनोटका विभिन्न १२ स्पर्धामा करिब ५४९ खेलाडी सहभागी हुँदैछन्। यसअघि नेपालकी सानुमाया थिङ ले महिला एकल काताको लागि इजिप्टमा हुने विश्व च्याम्पियनसिपमा स्थान सुनिश्चित गरिसकेकी छिन्।
टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ रहेका छन् भने प्रशिक्षक परीक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै पेरिस प्रस्थान गर्नेछन्। उनले टोली व्यवस्थापकको भूमिका पनि निर्वाह गर्ने छन्।
टोलीका लागि सुशान्त अधिकारी ले ट्र्याकसुट प्रायोजन गरेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठ ले मंगलबार एक समारोहका बीच बिदाइ गरेका थिए।
सदस्यसचिव घिसिङले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै भने, “यो प्रतियोगिता इतिहास रच्ने सुनौलो अवसर हो, देशको सम्मानका लागि सबैले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्छ।”

