नेपालको प्रभावशाली जित : ओमानलाई ३८ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लियो



ओमान,असोज ३०—नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा बलियो प्रदर्शन गर्दै घरेलु टोली ओमानलाई ३८ रनले पराजित गरेको छ। यस जितसँगै नेपाल अपराजित रहँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ र ट्रफी जित्ने सम्भावना बलियो बनाएको छ।

ओमानले जितका लागि १ सय ५२ रनको लक्ष्य पाएको थियो तर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १३ रनमै समेटियो। नेपालका बलरहरूमध्ये गुलशन झा, सोमपाल कामी र नन्दन यादवले उत्कृष्ट प्रदर्शन गरे। गुलशनले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए, सोमपाल र नन्दनले २/२ विकेट झारे भने सन्दीप लामिछानेले १ विकेट लिए।

ओमानका ब्याटरहरू नेपाली बलरको अगाडि टिक्न सकेनन्। २७ रनको स्कोरमा ३ विकेट गुमाएका ओमानका कप्तान जतिन्द्र सिंह १४ रनमा आउट भए भने आर्यान बिष्ट, नदिम खान र अन्य मध्यक्रमका ब्याटरहरू पनि दोहोरो अंकमा पुग्न असफल रहे।

यसअघि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो र २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्का सहित ६९ रनको शानदार अर्धशतक प्रहार गरे। उनको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा १३औं अर्धशतक हो।

नेपालले पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ६१ रनको साझेदारी गरे। आसिफ २४ रनमा आउट भएपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी सस्तामा गुमे। बलर नदिम खान ओमानका लागि नायक बने, उनले ४ ओभरमा २० रन खर्चेर नेपालको सुरूवाती ४ विकेट लिए।

नेपालका कुशल मल्लले यस खेलमा १ हजार रन पुरा गर्दै टी–ट्वान्टी आईमा यो उपलब्धि हासिल गर्ने पाँचौं नेपाली खेलाडी बने।

यस जितसँगै नेपालले लगातार चौथो जित हात पार्दै ८ अंकसहित तालिकाको शीर्षस्थानमा स्थान बनाएको छ। ओमान ६ अंकसहित दोस्रो स्थानमा छ। नेपालले अब आफ्नो अन्तिम खेलमा सामोआसँग प्रतिस्पर्धा गर्नेछ

प्रतिक्रिया दिनुहोस्