सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा
काठमाडौं,असोज ३० —प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सुनको भन्सार चोरी तथा पैठारी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने अदालतको आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतले महरालाई जगन्नाथदेवलस्थित कारागार कार्यालय सुन्धारा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।
महरामाथि विद्युतीय चुरोट (इ–सिगरेट) मार्फत सुनको अवैध भन्सार छली र पैठारीमा संलग्न भएको अभियोग लागेको छ। अदालतले प्रारम्भिक प्रमाणका आधारमा महरा निर्दोष ठहरिने अवस्था नरहेको ठहर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
अनुसन्धान प्रतिवेदन अनुसार, महराले चिनियाँ नागरिक दावा चिन वाङसँग निरन्तर सम्पर्क र पारिवारिक–व्यावसायिक सरहको सम्बन्ध राख्दै मिलेमतोमा अवैध रूपमा सुन भन्सार छली ल्याउने कार्यमा संलग्न रहेको देखिएको छ।
महराले प्रयोग गर्ने मोबाइल नम्बरहरू, उनका छोरा र पत्नीले प्रयोग गर्ने नम्बरबाट समेत दावा चिन वाङसँग पटक–पटक सम्पर्क भएको प्रमाण फेला परेको प्रतिवेदनमा उल्लेख छ।
२०७९ फागुन २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएका विद्युतीय चुरोट ७३० थानको मूल्य ५ लाख ११ हजार रुपैयाँ कायम गरेको थियो। उक्त सामानलाई अवैध माध्यमबाट आएको ठहर गर्दै भन्सार कार्यालयले जफत गर्ने निर्णय गरेको थियो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम पुर्पक्ष थुनाको आदेश दिएको हो।
अभियोगअनुसार, महरासँग ८ करोड ५५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

