‘जेनजी’का नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ
काठमाडौं,असोज ३०—‘जेनजी’का नाममा विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन्।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। उनका अनुसार शाहीविरुद्ध विभिन्न आपराधिक मुद्दा दर्ता भएर फरार सूचीमा परेका कारण पक्राउ गरिएको हो।
प्रहरीका अभिलेख अनुसार, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध यसअघि पनि प्रहरीका विभिन्न कार्यालयमा उजुरी दर्ता भएका थिए।
शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयसम्म पुगेर अनुगमन र ज्ञापनपत्र बुझाउने नाममा कर्मचारीलाई धम्क्याउने गतिविधि गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, शाहीमाथि थप अनुसन्धान भइरहेको छ।

