मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं,असोज ३०—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नं ४ ‘ख’ बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी त्यसका खातामा जम्मा भएको रकम हिनामिना गरेको प्रमाण भेटिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसुरजन्य कार्य गरेको ठहर गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार, सिंहले ३८ लाख ५० हजार ३१९ रुपैयाँ हिनामिना गरेको अभियोग लगाइएको छ।

त्यसैगरी धर्मशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष यमुनाप्रसाद महतो र कोषाध्यक्ष कौशिल्या देवी विरुद्ध १ लाख ८५ हजार २६० रुपैयाँ, धर्मशाला एवं रामनारायणको घरदेखि रामवृक्षको गाछीसम्म निर्माण समितिका अध्यक्ष योगेन्द्र महतो र कोषाध्यक्ष सुनयना कुमारी विरुद्ध ६ लाख ५७ हजार ७०० रुपैयाँ, कमलामाई मन्दिर र मालतमाईस्थान कम्पाउण्ड वाल निर्माण समितिका अध्यक्ष रामनाथ सहनी र कोषाध्यक्ष स्वीकृति देवी विरुद्ध २ लाख १४ हजार ३५० रुपैयाँ,माइस्थान मन्दिर सौन्दर्यकरण समितिका अध्यक्ष रामशरण खत्वे र कोषाध्यक्ष बिभादेवी खत्वे विरुद्ध १ लाख ५० हजार रुपैयाँ,
कञ्चनियामाई मन्दिर सौन्दर्यकरण समितिका अध्यक्ष रमेश मडर र कोषाध्यक्ष अमलेश कुमारी विरुद्ध १ लाख ५१ हजार ४०० रुपैयाँ,
देवी महारानी सौन्दर्यकरण निर्माण समितिका अध्यक्ष दिपाराज देवी राजपुत र कोषाध्यक्ष भिखारी राउत कुर्मी विरुद्ध २ लाख ९७ हजार ७९४ रुपैयाँ,र रधवा–सहसौला हुँदै जनता प्रावि–लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण समितिका अध्यक्ष भुपेन्द्रकुमार झा विरुद्ध १८ लाख ९१ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ।

त्यसैगरी, रधवा पीपलहुँदै अनहेरभाट स्थानसम्म सडक स्तरोन्नति निर्माण समितिका अध्यक्ष शम्भुकुमार मण्डल विरुद्ध ३ लाख १ हजार ९१५ रुपैयाँ, र सो समितिकी कोषाध्यक्ष मञ्जु देवी पासवान विरुद्ध २१ लाख ९३ हजार ८१५ रुपैयाँ बिगोसहित कसुर तथा सजायको मागदाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्