आगामी टी–२० विश्वकपका सबै २० टोलीको टुंगो, नेपालसहित तीन एसियाली देश छनोट



काठमाडौं,असोज ३१ । भारत र श्रीलंकामा आगामी वर्ष हुने आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुने सबै २० टोलीको टुंगो लागेको छ। एसिया तथा इष्ट एसिया–प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले जापानलाई ८ विकेटले पराजित गरेसँगै अन्तिम टोली पनि सुनिश्चित भएको हो।

यसअघि यस क्षेत्रबाट नेपाल र ओमानले विश्वकपमा स्थान सुरक्षित गरिसकेका थिए। गएराति अल इमिरेत क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको यूएईले जापानलाई ४७ बल बाँकी रहँदै हराएको हो। जापानले २० ओभरमा ९ विकेट गुमाएर ११६ रन बनाएको थियो भने यूएईले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

यूएईका लागि अलिसान सराफुले ४६, कप्तान मोहम्मद वासीमले ४२ र राहुल चोप्डाले १४ रनको योगदान दिए। एसिया तथा इष्ट एसिया–प्यासिफिक छनोटमा सहभागी ९ देशमध्ये नेपाल, ओमान र यूएईले विश्वकपको यात्रा तय गरेका हुन्।

आयोजकका रूपमा भारत र श्रीलंका पहिले नै छनोट भइसकेका थिए।
त्यसपछि २०२४ टी–२० विश्वकपका शीर्ष ७ टोली अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले स्वचालित प्रवेश पाए।

वरियताका आधारमा आयरल्यान्ड, न्यूजिल्यान्ड र पाकिस्तान पनि छनोट भएका छन्। क्षेत्रीय छनोटमार्फत क्यानडा (अमेरिका क्षेत्र), इटाली र नेदरल्याण्ड्स (युरोप), तथा नामिबिया र जिम्बावे (आफ्रिका) पनि आगामी वर्षको टी–२० विश्वकप खेल्ने टोली बनेका छन्।

प्रतिक्रिया दिनुहोस्