अर्जुनधारामा सर्पको डसाइबाट १० वर्षीय बालकको मृत्यु
झापा,असोज ३१ । झापाको अर्जुनधारा–११ चाम्लिङडाँडामा सर्पको डसाइबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा १० वर्षीय अनिश राई रहेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहका अनुसार राईलाई गएराति सुतिरहेका बेला ओछ्यानमै सर्पले टोकेको थियो।
सर्पले डसेपछि उनलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याइएको थियो।
तर, उपचारका क्रममा शुक्रबार बिहान राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

