टी–ट्वान्टी विश्वकप छनोटको उपाधि जित्न सामोआसँग खेल्दै नेपाल



काठमाडौं,असोज ३१— ओमानमा जारी टी–ट्वान्टी विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दैछ । ओमानको अल अमिरत क्रिकेट मैदानमा आज अपराह्न सवा ४ बजे नेपाल र सामोआबीचको खेल सुरु हुनेछ ।

दुवै टिमले प्रतियोगिताको आफ्नो अन्तिम खेल खेल्दैछन् । जारी प्रतियोगितामा नेपाल हालसम्म अपराजित छ । समूह चरणमा जापान र कतारलाई पराजित गर्दै शीर्ष ६ मा पुगेको नेपालले शीर्ष ६ मा बलियो प्रतिद्वन्द्वी युएई र ओमानलाई पराजित गरेको थियो । अंक तालिकामा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको युएईले सबै खेल खेलिसकेको छ । उसको ६ अंक छ । एक खेल कम खेलेको ओमान पनि ६ अंकसहित तेस्रो स्थानमा छ । उसले आज अन्तिम खेल जापानसँग खेल्दैछ । जापानसँग ओमान पराजित भए नेपालले एक खेलअगावै उपाधि जित्ने छ । ओमानले जापानलाई पराजित गरे नेपालले उपाधि जित्न सामोआलाई पराजित गर्नुपर्नेछ ।

प्रतियोगिताबाट विश्वकपमा पुग्ने तीन वटै टिमको टुंगो भने लागिसकेको छ । नेपाल, युएई र ओमानले शीर्ष–३ मा स्थान सुनिश्चित गर्दै चार महिनापछि हुने टी ट्वान्टी विश्वकपमा स्थान सुरक्षित गरेका हुन् । सन् २०२६ को टी ट्वान्टी विश्वकप प्रतियोगिताको आयोजना भारत र श्रीलंकाले संयुक्त रूपमा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्