बालबालिकाका लागि जर्मनीको माया : नुवाकोटका विद्यालयमा ‘केयर फर चिल्ड्रेन’को दिवा खाजा र सहयोग
• भरतसन्तोषी लामा
नुवाकोट,असोज ३१ । नुवाकोटका विभिन्न गाउँपालिकाका विद्यालयमा जर्मन संस्था केयर फर चिल्ड्रेनले निरन्तर सहयोग गर्दै आएको छ। संस्थाले विद्यालयमा दिवा खाजा, विद्यालय पोशाक, झोला, जुत्ता र स्टेसनरी सामग्री वितरण गर्नुका साथै भौतिक संरचना निर्माणमा समेत आर्थिक सहयोग गर्दै आएको हो।
संस्थाले हालसम्म नुवाकोटका ककनी, पञ्चकन्या, शिवपुरी र लिखु गाउँपालिकाका विद्यालय तथा गोरखा जिल्लाका केही विद्यालय गरी कुल १० विद्यालयलाई सहयोग पुर्याएको छ। यस कार्यक्रमबाट करिब १,००० विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। लाभान्वितमा विद्यार्थीका साथै शिक्षक र अभिभावक पनि रहेका छन्।
संस्थाले सहयोगरत विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी रु.१५ बराबरको दैनिक खाजा खर्च उपलब्ध गराउँदै आएको छ। विद्यालयहरूमा स्थायी भान्से नियुक्त गरिएको छ र ती भान्सेलाई पौष्टिक खाजा पकाउने तालिम समेत दिलाइएको छ। हालै पहिलो चरणमा शिवपुरी र पञ्चकन्याका ११ जना भान्सेलाई पाक प्रशिक्षण दिइएको हो। शिवपुरीको ग्रामीणदेवी माध्यमिक विद्यालय, कुम्भेश्वर माध्यमिक विद्यालय र पञ्चकन्याको बच्छला माध्यमिक विद्यालयका भान्सेलाई प्रशिक्षण दिइएको हो ।
यूकेलगायत विभिन्न देशमा ख्याति कमाएका सेफ सुरेश गमालले बिहीबार र शुक्रबार तालिम सञ्चालन गरेका थिए। उनले बालबालिकाको स्वास्थ्यका लागि पौष्टिक र सफा खानाको महत्त्वबारे प्रशिक्षण दिएका थिए।
संस्थाको दिवा खाजा कार्यक्रम सन् २००० देखि सुरु भई २५ वर्ष पूरा गरेको छ। संस्थाका कोषाध्यक्ष गोकर्ण गुणीका भन्छन्, “हामीले डोनेशन प्रणालीमार्फत देश–विदेशका सहयोगीहरूसँग प्रपोजल तयार गरेर कार्यक्रम अगाडि बढाउँदै आएका छौं।”
संस्थाले तिहारलगत्तै सहयोगरत विद्यालयका विद्यार्थी र शिक्षकलाई न्यानो पोशाक वितरण गर्ने योजना समेत बनाएको छ।
स्थानीय विद्यालयहरूमा बालबालिकाको शिक्षासँगै स्वास्थ्य र पोषणमा सुधार ल्याउने उद्देश्यका साथ केयर फर चिल्ड्रेनले सञ्चालन गरेको यो कार्यक्रम गाउँ–गाउँमा शिक्षा र आत्मनिर्भरताको सन्देश फैलाउँदै गएको छ।

