अपराजित नेपालको शानदार जित : आइसिसी टी–२० विश्वकप एसिया तथा ईएपी छनोटको उपाधि हातमा
ओमान,असोज ३१ – नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (EAP) छनोटमा अपराजित रहँदै उपाधि जितेको छ। शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर उत्कृष्ट प्रदर्शनसँगै च्याम्पियन बनेको हो।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार पार्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रनको शानदार योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन जोडे।
सामोआका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर र नुह मिडले समान एक–एक विकेट लिएका थिए।
जवाफी ब्याटिङमा सामोआ २० ओभरमा ७ विकेटको क्षतिमा ८७ रनमै रोकियो। नेपालका बलर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट झारे भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक–एक विकेट हात पारे।
यस जितसँगै नेपालले विश्वकप छनोट अभियान अपराजित रुपमा समाप्त गर्दै आगामी टी–२० विश्वकपमा बलियो दाबीदारको रूपमा आफ्नो उपस्थितिलाई सशक्त बनाएको छ।

