दोलखामा भालुको आक्रमणबाट एकजनाको मृत्यु
दोलखा,कात्तिक १ । दोलखाको बैतेश्वर गाउँपालिका–३ ठाडेमा भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ठाडे निवासी ५९ वर्षीय टेकबहादुर तामाङलाई शुक्रबार बिहान घाँस काट्न जाँदै गर्दा घरदेखि करिब २०० मिटर टाढा रहेको जंगलमा भालुले आक्रमण गरेको हो।
जिरी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धन्नेद्रहाङ खुजुमका अनुसार चिकित्सकसहितको टोली घटनास्थल पुगेको बेला तामाङको मृत्यु भइसकेको थियो। प्रहरीका अनुसार तामाङको टाउको, खुट्टा, शरीर र अनुहारमा गहिरो चोट लागेको थियो।
डिभिजन वन कार्यालय दोलखाका अधिकृत कृष्णराज न्यौपानेका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा भालु पाइने भएकाले समय–समयमा यस्ता आक्रमण हुने गर्छन्। उनले भालुको आक्रमणमा परी मृत्यु हुने परिवारलाई सरकारले प्रतिव्यक्ति रु. १० लाख क्षतिपूर्ति प्रदान गर्ने प्रावधान रहेको जानकारी दिए।
यसअघि पनि गौरीशंकर गाउँपालिकाका दुईजना भालुको आक्रमणबाट घाइते भएका थिए। गौरीशंकर संरक्षण क्षेत्रभित्र रहेका कारण वन्यजन्तुहरू गाउँ नजिकै ओहोरदोहोर गर्ने र मानिसको सम्पर्कमा परे आक्रमण गर्ने गरेको वन अधिकृत न्यौपानेले बताए।

