काठमाडौँमा दुई महिनासम्म भेला, प्रदर्शन र जुलुस निषेध
काठमाडौँ,कात्तिक १ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले आगामी दुई महिनासम्म काठमाडौँका विभिन्न क्षेत्रमा भेला, प्रदर्शन, धर्ना र जुलुस गर्न निषेध आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार जारी गरेको आदेश अनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, घेराउ, जुलुस, प्रदर्शन तथा सभा गर्न प्रतिबन्ध लगाइएको हो।
आदेशमा भनिएको छ, “विरोधका कार्यक्रम आयोजना गर्दा उत्तेजित भीडबाट तोडफोड, आगजनी, उच्छृङ्खल तथा अवाञ्छित गतिविधि हुन सक्ने, आपसी मुठभेड र हुलदङ्गा वा अशान्ति हुने सम्भावना देखिएकाले सार्वजनिक सुरक्षाको दृष्टिले यस्तो निर्णय गरिएको हो।”
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) बमोजिम जारी गरिएको यो आदेश आजदेखि लागू भई आगामी दुई महिनासम्म कायम रहनेछ।
आदेशअनुसार राष्ट्रपति कार्यालय शीतल निवास वरपरको क्षेत्र, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोक, सामाखुशी मोडदेखि सामाखुशी खोलासम्म, हरितगृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, केशरमहल चोकदेखि मल्ल होटलसम्मको नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र लगायतका स्थानमा कुनै पनि किसिमको भेला वा प्रदर्शन गर्न पाइने छैन।
त्यसैगरी, सिंहदरबार परिसर, सर्वोच्च अदालत अगाडिको क्षेत्र, पुरातत्व विभागको चोकदेखि दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, जिल्ला अदालत र प्रशासन कार्यालय वरपरका क्षेत्र, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र राष्ट्र बैंक चोक वरपरका क्षेत्रमा पनि निषेध आदेश लागू गरिएको छ।
प्रशासनले नागरिकलाई आदेशको पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गरेमा कानूनी कारबाही हुने चेतावनी दिएको छ।


