धान भित्र्याउने चटारोमा नुवाकोटका किसान व्यस्त
नुवाकोट,कात्तिक १ — नुवाकोटमा अहिले किसानहरू धान भित्र्याउने चटारोमा व्यस्त भएका छन्। पञ्चकन्या गाउँपालिका–१ सिमारा फाँट छिर्ने क्रममा धान झार्ने थ्रेसरहरूको लामो लाइन देख्न सकिन्छ। चौघडा, थान्सिङ, शिखरबेसी, ढिकुरे,सेउली फाट लगायतका क्षेत्र नुवाकोटका प्रमुख धान उत्पादनका केन्द्र मानिन्छन्।
धान पाकेर तयार भएपछि किसानहरू बिहानैदेखि खेतमा धान काट्ने, झार्ने र थ्रेसरमा लगेर दाना छुट्याउने काममा जुटिरहेका छन्। स्थानीय किसानका अनुसार यस वर्ष मौसम अनुकूल रहेकाले धानको उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको छ।
धान भित्र्याउने मौसमसँगै गाउँभर उत्साह छाएको छ। कतिपय किसानले नयाँ धानको भातको स्वाद चाखिसकेका छन् भने केहीले अझै खेतमै काम गरिरहेका छन्। कृषि प्राविधिकहरूका अनुसार उत्पादन राम्रो भए पनि बजार मूल्य र यातायात सुविधाको अभावले किसानलाई समस्या पर्ने गरेको छ।

