दिलनिशानीको स्टाटसले मच्चायो राजनीतिक तरंग : सुरक्षा निकाय र कूटनीतिक सन्देशप्रति प्रश्न उठाउँदै लेखिएको विश्लेषणात्मक टिप्पणी
काठमाडौं,कात्तिक १ — कलाकार तथा सामाजिक सञ्जालमा सक्रिय व्यक्तित्व दिलनिशानी मगरले शनिबार बिहान फेसबुकमा लेखेको लामो राजनीतिक विश्लेषणात्मक स्टाटसले व्यापक ध्यान खिचेको छ। उनले पछिल्ला राजनीतिक र सुरक्षा घटनाक्रमलाई जोड्दै नेपाली सेनाको भूमिकादेखि लिएर प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, दलाई लामा र अन्तर्राष्ट्रिय सम्बन्धसम्म विषय उठाएका छन् ।
उनको स्टाटसको सुरुवातमा उनले लेखेका छन् — “इरानबाट कतारतर्फ हानेको मिसाइल दुई घण्टा अगाडि नै थाहा पाउँछन्, तर वानेश्वरमा उफ्रिरहेका ट्यापेहरू कतिखेर सिंहदरबार घुस्छन्, नेपाली सेनाले थाहा पाउँदैन।” यस वाक्यले नै सामाजिक सञ्जालमा चर्चा बढाएको हो।
मगरले आफ्नो पोस्टमा हालैको सिंहदरबार आगलागी प्रकरणमा नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाउँदै, “भिडका कारण दमकल जान सकेन होला तर हेलिकप्टरबाट पानी छर्किन सकिन्थ्यो,” भन्दै आलोचना गरेका छन् । साथै, उनले लेखेका छन् — “घटनाक्रमहरू हेर्दा बालेनले नेपाली सेनालाई हातमा लिएको देखिन्छ, तर बालेनलाई कसले साथ दिएको छ, यसै भन्न सकिन्न।”
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, राष्ट्रपति पुटिन र सी जिनपिङसँगको सम्बन्ध, र नेपालको भू–राजनीतिक संवेदनशीलताका विषयसमेत समेटेका छन्। स्टाटसमा उनले ऐतिहासिक प्रसङ्गसमेत जोड्दै सन् १९७९ को अफगानिस्तानको उदाहरण दिएका छन्, जसले सियासी हस्तक्षेपका कारण देशमा अस्थिरता आएको थियो भन्ने तर्क गरेका छन्।
मगरले आफ्नो पोस्टको अन्त्यमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको संघर्षको चर्चा गर्दै लेखेका छन् — “राजनीतिका सुरुवाती चरण र अन्तिम क्षणहरू देउवाका लागि उस्तै बने। देउवाको शान्त अनुहार जस्तै देशमा पनि सधैंभरि शान्ति छाओस्।”
यस पोस्टलाई धेरैले “राजनीतिक विश्लेषणको रूपमा लेखिएको साहसिक टिप्पणी” भनेका छन् भने केहीले “षड्यन्त्रपूर्ण र अस्पष्ट सन्देश दिने” भन्दै आलोचना गरेका छन्। स्टाटसमा उल्लेख गरिएका अन्तर्राष्ट्रिय सन्दर्भ र नामहरूमाथि समेत विभिन्न कोणबाट चर्चा भइरहेको छ।
सामाजिक सञ्जालमा उनको पोस्ट अहिले सयौं पटक सेयर र हजारौं प्रतिक्रिया प्राप्त गर्दै ट्रेंडिङ विषय बनेको छ।

