फरार अपराधी र हतियार फिर्ता नभएसम्म चुनाव हुन सक्दैन : अध्यक्ष ओली
काठमाडौं,कात्तिक १ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेलबाट भागेका अपराधी र लुटिएका हतियार फिर्ता नभएसम्म देशमा चुनाव सम्भव नभएको बताएका छन्।
शनिबार काठमाडौंको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
अध्यक्ष ओलीले अहिले देशमा चुनावका लागि आवश्यक वातावरण नबनेको बताउँदै एमालेले विघटित संसद्को पुनर्स्थापनाको माग उठाएको स्पष्ट पारे।
उनका अनुसार अपराध, असुरक्षा र राजनीतिक अनिश्चितताको अवस्था कायम रहेकाले निर्वाचन सम्पन्न गर्नुअघि राज्यले शान्ति र सुरक्षाको प्रत्याभूति दिनु आवश्यक छ।

