तिहारको समयमा देशभर सामान्य पश्चिमी वायुको प्रभाव, उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं,कात्तिक २— यस वर्षको तिहार पर्वको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले शनिबार जारी गरेको तिहार विशेष मौसम बुलेटिनमा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र केही स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
कार्तिक ३ (लक्ष्मी पूजा) — देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने।
कार्तिक ४ (औँसी) — देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा फाटफुट वर्षाको सम्भावना। बाँकी भूभागमा मौसम सफा रहने।
कार्तिक ५ (गोवर्धन पूजा) — देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र कोशी तथा कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने।
कार्तिक ६ (भाइटीका) — कोशी र मधेश प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले तिहारको अवधिभर देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने भएकाले पर्वको उल्लासमय वातावरणमा खास असर नपर्ने अनुमान गरेको छ।

