ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा भीषण आगलागी



ढाका,कात्तिक २— बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार दिउँसो भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि उडान सञ्चालन अस्थायी रूपमा बन्द गरिएको थियोे ।

द डेली स्टारका अनुसार आगो निभाउन ३६ वटा दमकलका युनिट परिचालन गरिएको थियोे । आगो विमानस्थलको गेट नम्बर ८ नजिकै रहेको कार्गो खण्डमा लागेको बताइएको छ।

बंगलादेश नागरिक उड्डयन प्राधिकरण, अग्नि सेवा, नौसेना र वायुसेनाका दमकल टोलीहरू सहित सीमा रक्षक बलका दुई प्लाटुन पनि राहत तथा उद्धार कार्यमा खटिएका थिए ।

विमानस्थल स्रोतका अनुसार कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

हालसम्म आगलागीको कारण नखुलेको बंगलादेशका अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्