दोलखामा साप्ताहिक हाटबजार सुरु, स्थानीय उत्पादन प्रवर्द्धनमा महिलाको नेतृत्व



दोलखा,कात्तिक २ — प्राचीन दोलखा बजारमा स्थानीय उत्पादन प्रवर्द्धन र हराउँदै गएको परम्परागत व्यापार पुनर्जीवित गर्न लक्ष्यसहित साप्ताहिक हाटबजार सञ्चालन सुरु गरिएको छ। कात्तिक १ गतेदेखि सुरु भएको यो हाटबजार प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुने भएको हो।

सफल सहयात्री महिला समूहको पहलमा र वडा नं. २ को अपनत्वमा सुरु भएको हाटबजारमा दोलखाका खेलाप, फुलपा, डोक्थली, सोक्ला, गगरास लगायत स्थानमा उत्पादित खुर्सानी, कागती, जुनार, अम्बा, सयपत्री, मखमली, किवी, साग, धुप, कोदोका परिकार, डोको, नाम्लो, अम्रिसोको कुचो र लिप्ने माटो जस्ता वस्तुहरूको किनबेच भइरहेको छ।

वडाध्यक्ष स्तालिन श्रेष्ठका अनुसार, ६ महिनाअघि सुरु गरिएको छलफलपछि समूहले नै हाटबजार सञ्चालनको जिम्मा लिएको हो। उनले भने, “केही तयारी नहुँदा पनि पहिलो दिन राम्रो चहलपहल देखियो।”

श्रेष्ठका अनुसार, हाटबजारले अर्गानिक उत्पादनलाई बजार दिने र भीमेश्वर मन्दिर दर्शन गर्न आउने भक्तजनलाई ताजा स्थानीय वस्तु पहिचानका रूपमा लैजान सहज बनाउने लक्ष्य लिएको छ।

थामी समुदायकी १८ देखि ४० वर्ष उमेर समूहका महिलाहरूले सञ्चालन गरेको हाटबजारमा बिक्री नभएका सामान वडाले व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्